को को हुन्

आचार्यहरुको घर (बाहुनहरु)
पहिले : सुरी गाउँमा बस्दा म यो परिवारको मूल घरसँगै रहेको अर्को घरमा सानो कोठा भाँडामा लिएर बसेकी थिएँ । यो परिवारमा मधुसूदन र राधिका आचार्य, जो श्रीमान् श्रीमती हुन्, मधुसूदनकी दुई दिदीबहिनी, गायत्री र उर्मिला र उसकी आमा । म त्यहीं हुँदा गायत्रीको बिहे भयो र राधिका र मधुसूदनको छोरोको पनि । मधुसुदनका पिता हुलाकी थिए, जो गाउँ बाहिर दोश्रो बिहे गरेर बसेका थिए त्यसैले कहिलेकाहीं मात्रै आउँथे । उनीहरुको सानो पसल थियो र खेती पनि गर्थे जसबाट वर्षभरिलाई खान पुग्थ्यो ।

अहिले : यस घरमा केवल राधिका(अध्याय ७ मा उसको बारेमा उल्लेख गरिएको छ) बस्छिन् । मधुसूदन अहिले दोलखामा उसकी आमा र दोश्रो पत्नीसँग बस्छ जहाँ उसको जागिर पनि छ । राधिकाका दुई छोरा पनि ऊसँगै बस्छन् ।

हेमबहादुर घटाने

अहिले:हेमबहादुर सुरी गाउँभन्दा माथिको डाँडामा सानो वस्ती जसलाई ‘सुरीडाँडा’ भनिन्छ त्यहाँ बस्छ । ऊ जातले कामी हो र जातले लादिएको पेसा छोडेर ऊ पहिले मलेसियामा गएर काम गरेर फर्केको हो (अध्याय ६ मा उल्लेख गरिएको) । ऊ आफ्नी श्रीमती र दुई छोरासँग बस्छ ।

जिरा गुरुङ्ग

अहिले : जिरा एक अविवाहित युवती हो जो नाक्पाभन्दा तल रहेको काप्तीको गुरुङ्ग वस्तीमा बस्छे । ऊ पन्ध्र वर्षकी हुँदा कुवेतमा कसैको घरमा काम गर्न बसेकी थिई र अध्याय ६ मा उसका केही कुवेत स्मरणहरु उल्लेख गरिएको छ ।

तीर्थमाया र हस्तलाल कामी (विश्वकर्मा)

पहिले : हस्तलाल र तीर्थमाया श्रीमान्–श्रीमती हुन् जसको ‘मोती’नाम गरेको छोरो छ । उनीहरु नाक्पाभन्दा अलिकति पर कामी वस्तीमा बस्थे जसको ठिक्कको घर र थोरै जग्गा थियो । उनीहरुको कमाईको श्रोत भनेकै हस्तलालले बनाउने कृषिका औजारहरु थिए । उसको बुबाले जस्तै हस्तलाल पनि पैसा कमाउन आफ्नो गाउँ छोडेर अन्यत्र गएन ।

अहिले : हस्तलालको पिताको केही समयअघि निधन भएछ तर यही समयमा उनीहरुको ४ वटा बच्चा भएछन् जसमध्येको जेठो छोरो (मोती) काठमाडौंमा बस्छ । उनीहरुको अवस्थामा सुधार आएको छ र उनीहरुले आफ्नो घरको मर्मत गरेका छन् र केही जमिन तथा गाईवस्तु पनि किनेका छन् (अध्याय ७ मा उल्लेख गरिएको)

काँइली कामी (विश्वकर्मा)
पहिले : काँइली त्यत्तिखेर युवती थिई जसको श्रीमान् प्रायः कामको सिलसिलामा बाहिरै हुन्थ्यो । उनीहरुको त्यत्तिबेला एउटा बच्चा थियो र काँइलीले आफ्नो घर तथा उनीहरुको थोरै जग्गा र गाईवस्तुको देखभाल गर्थी ।

अहिले: काँइलीको श्रीमान् अहिले पनि गाउँ बाहिर नै छ तर यस परिवारले आफ्नो स्थितिमा सुधार ल्याएको छ जसलाई अध्याय ७ मा उल्लेख गरिएको छ । उनीहरुले जमिन किन्न र घर बनाउन पैसा लगाएका छन् । उनीहरुको जम्मा ४ जना छोराछोरी छन् जसमध्ये एक छोरी अपाङ्ग छे ।

चण्डी, कर्नकबहादुर तथा कुमार कार्की –एर्मुको घर
पहिले : म सुरीको माथिल्लोपट्टि नाक्पामा बस्दा यही परिवारसँग बसेकी हुँ । अध्याय ३ मा उल्लेख गरे अनुसार यो घर त्यहाँका धनी एवम् प्रभावकारी क्षत्रीहरुको घर थियो । कर्नकबहादुर त्यहाँका उपप्रधानपञ्च थिए भने चण्डी त्यहाँको प्रभावशाली परिवार खड्काकी एक मात्र सन्तान भएकीले पुख्र्यौली घर तथा जग्गा पाएकी थिइन् । चण्डी तथा कर्नक बहादुरको हुर्केका ६ छोराछोरी थिए : दुई छोरा र चार छोरी । म त्यहाँ बस्दा यी दुई श्रीमान्–श्रीमती बाहेक उनीहरुको बुहारी र नाति कुमार पनि त्यहीं बस्थे । कुमारका पिता नजिकैको पञ्चायतमा सचिव थिए र जो कहिलेकाहीं मात्र यता आउँथे किनकी उनले अन्तै घर बसाएका थिए ।

अहिले : द्वन्द्वका कारण एर्मुको घर भत्किएको छ । चण्डीको सन् १९९० को अन्त्यतिर आफ्नै छोरीको घरमा निधन भयो भने कर्नकबहादुर सन् २००५ सालमा बिते । उनीहरुको सचिव छोरोको सन् १९९० को मध्यतिर काठमाडौंमा हत्या भयो र उसकी विधवा अहिले काठमाडौंमा बस्छिन् । उनीहरुको छोरो कुमार जो अहिले तीस वर्षको हाराहारीमा पुगेको छ एर्मु नजिकै आफ्नी श्रीमती र चार छोराछोरीसँग बस्छ ।

तोमतार, रुक्मणी र जगत कार्की

पहिले : जगत कार्कीका दुई श्रीमती थिए: तोमतार र रुक्मणी, जो दिदीबहिनी हुन् । ऊ प्राथमिक विद्यालयमा अस्थायी शिक्षक थियो । ऊ र उसको अविवाहित भाइले मूलाबारीमा आफ्नो घरलाई बराबरी भाग लगाएका थिए जहाँ जगतले माथिल्लो भाग लिएको थियो । उसकी पहिली पत्नी तोमतारले घर चलाउँथिन् । उसको र जगतको एउटा छोरो थियो र सन् १९९० मा एउटी छोरीको पनि जन्म भएको थियो । रुक्मणी र जगतको एउटी छोरी थिई भने सन् १९९० मा अर्की छोरीको पनि जन्म भयो । त्यत्तिखेर रुक्मणीले मलाई मेरो शोधपत्रमा सहायता गरेकी थिइन् र उनले त्यत्तिबेला मलाई धेरै कुरा बुझाएकी थिइन् जुन कुराहरु म आफैंले बुझ्न सकेकी थिइनँ ।

अहिले : जगत र तोमतार घरको माथिल्लो भागमा बस्छन्, उनीहरुको छोरा काठमाडौंमा बस्छ र छोरीहरुको बिहे भइसकेको छ । जगत अहिले पढाउँदैन र परिवार अहिले आफ्नो र आफ्नो भाइको जग्गामा खेती गर्छ । रुक्मणी भने घरको तल्लो तल्लामा बस्छे जसको जेठी छोरीको बिहे भइसकेको छ र कान्छी भने काठमाडौंमा पढिरहेकी छे । उनीहरुसँग यथेष्ट जग्गा छ तर दुई परिवारबीच बाँड्नु पर्ने हुनाले यो पनि कलहको जड बनेको छ ।

वीरमाया र अशोक सुनुवार (सुरेल)

पहिले : मैंले चिनेको मध्ये वीरमाया र अशोक सुरीमा सबैभन्दा गरिव मानिस थिए । उनीहरु सुरीमा माटोको घरमा आफ्नी छोरी प्रमिलासँग बस्थे । वीरमाया तामाङ्ग हो र विवाहपछि सुनुवार भएकी हो । वीरमायालाई गाउँमै अरुको काम गरेर जीविका चलाउन छोडेर, अशोक प्रायजसो कामको सिलसिलामा गाउँ बाहिरै बस्थ्यो । उनीहरुसँग एकदमै थोरै जमिन थियो र त्यहाँको उब्जनीले केवल ३ महिनासम्मलाई मात्र खान पुग्थ्यो ।

अहिले: अहिले उनीहरु भक्तपुरमा भाँडाको कोठामा बस्छन् । उनीहरुको अहिले तीन छोरी छन् र तीनजना स्कूल जान्छन् । वीरमाया अहिले सानो रेष्टुराँ चलाउँछे र कहिलेकाहीं अशोकसँगै गार्मेन्ट फ्याक्ट्रीमा काम गर्छे । अध्याय १० मा उल्लेख गरे अनुसार पहिले आफूलाई ‘सुनुवार’ भने पनि अहिले उनीहरुलाई सुहाउँदो थर ‘सुरेल’ राखेका छन् ।

दधिका र बूढे शेर्पा
पहिले : कासिका वस्तीमा बस्ने यी बूढाबूढी एकदमै सरल तरिकाले बसेका थिए । बूढे दधिकाभन्दा अलि बूढो थियो र उनीहरुसँग थोरै जमिन थियो त्यसैले उनीहरु अँधियामा काम गर्थे । उनीहरुका तीन छोरी थिए र जेठी छोरी छिरिङ्ग करिब नौ वर्षकी थिई । सन् १९८८ मा दधिकाको टिवीले निधन भयो ।

अहिले: बूढे र उसको परिवार सुरी छोडेर तराईमा पहिलेकोभन्दा सुखसँग बसेका छन् । उसकी एक छोरी भने नेपालबाहिर बस्छे ।

लाङ्गमाया, पद्म बहादुर र सीता तामाङ्ग

पहिले : लाङ्गमाया र पद्मबहादुर कुकुराबाङ्गको सानो तामाङ्ग वस्तीमा छोरो श्याम र छोरीसँग बस्थे । उनीहरुसँग ६
महिनालाई खान पुग्ने जमिन मात्रै थियो त्यसैले वर्षको अरु समय पद्मबहादुर भारतमा कमाउन जान्थ्यो ।
यस्तै गरी काममा गएको बेलामा लाङ्गमायाको निधन भएको थियो ।

अहिले: लाङ्गमायाको तीस वर्षकै हाराहारीमा मृत्यु भयो । उसको मृत्युपछि पद्म बहादुर बाहिर काम गर्न गएन र
अर्को बिहे गर्यो । उसकी दोश्री पत्नी सीता,लाङ्गमायाकै नातेदार हो र उसका सन्तान छैनन् । श्यामको बिहे
भइसकेको छ र सानी छोरी पनि छे , उसकी बहिनीको अझै बिहे भएको छैन र उनीहरुसँगै बस्छे । उनीहरु अहिले
गाईवस्तु पालेर नै आफ्नो जीविका चलाइरहेका छन् र बीस वर्ष अघिभन्दा अहिले सुखसँग बाँचेका छन् ।